रौतहट, असोज ११ गते ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट शेख सगिर आलमले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
रौतहट जिल्ला परोहा नगरपालिका वडा नं ३, तेजापाकड निवासी आलमले काठमाडौंमा अध्ययन पूरा गरी लामो समयदेखि शैक्षिक, सामाजिक तथा सरकारी सेवामा योगदान गर्दै आउनुभएको छ । वि.सं. २०६२ सालदेखि अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै जनतालाई सेवा प्रदान गर्नुभएको अनुभव उहाँसँग छ ।
सरकारी सेवासँगै शिक्षा क्षेत्रमा समेत सक्रिय आलमले अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई नेपाली पाठ्यक्रमसँग समायोजन गर्दै काठमाडौं उपत्यकामा विभिन्न विद्यालयहरू सञ्चालन गरी हजारौं विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आउनुभएको छ ।
गाउँ-ठाउँको अवस्था स्मरण गर्दै आलमले रौतहट जिल्लामा अझै पनि शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानी जस्ता आधारभूत आवश्यकतामा जनताले कठिनाइ भोग्नुपरेको बताउँदै आगामी दिनमा यिनै समस्याहरू समाधान गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “रौतहट जिल्लाको शिक्षा अवस्था नेपालकै पुच्छारमा छ, परोहा नगरपालिकामा त साक्षरता प्रतिशत नै निकै न्यून छ । यसलाई सुधार गर्न, स्वास्थ्य सेवा सहज बनाउन, कृषकलाई समयमै मल–जल उपलब्ध गराउन तथा स्वच्छ खानेपानीको व्यवस्था गर्न म आफ्नो सम्पूर्ण प्रयास गर्नेछु ।”
युवापुस्ता र नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै राजनीतिक यात्रामा अगाडि बढ्नुभएको आलमले क्षेत्रवासीहरूसँग निरन्तर अन्तरक्रिया गर्दै सामूहिक समस्याको समाधानमा आफू सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै उहाँले क्षेत्रवासीप्रति विश्वास प्रकट गर्दै भन्नुभयो, “आगामी निर्वाचनमा मेरो क्षेत्रका जनताले अमूल्य मत प्रदान गरी मलाई निर्वाचित गराउनुहुनेछ भन्ने पूर्ण भरोसा छ । जनतासँगको प्रत्यक्ष सहकार्य गर्दै मैले प्रतिज्ञा गरेका उद्देश्यहरू पूरा गर्नेछु ।”
रौतहट–२ का युवा प्रतिनिधिका रूपमा शेख सगिर आलम अबको चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण पात्रका रूपमा उदाउँदै हुनुहुन्छ ।

