चेन्नई, तमिलनाडु : चर्चित तमिल अभिनेता तथा नयाँ राजनीतिज्ञ विजय थलापतीको राजनीतिक सभामा ठूलो दुर्घटना भएको छ । तमिलनाडुको करूरमा शनिबार आयोजित सभामा भीड नियन्त्रण बाहिर जाँदा ३६ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
तमिलनाडुका स्वास्थ्य मन्त्री म. सुबरमणियनका अनुसार मृतकमध्ये १६ महिला, ९ पुरुष र ६ बालबालिका रहेका छन् । अत्यधिक भीड, धक्का–मुक्की र सास फेर्न गाह्रो हुने अवस्थाले धेरै मानिस बेहोस परेका थिए ।
टिभिके (तामिलगा वेत्री काझगम) पार्टीले आयोजना गरेको सभामा अनुमानित ३० हजार मात्र आउने अपेक्षा गरिएकोमा करिब ६० हजार जना पुगेपछि अवस्था बिग्रिएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब साढे ७ बजे विजयलाई नजिकबाट देख्न भीड अगाडि धकेलिँदै गएपछि भगदड सुरु भएको थियो ।
विजयले त्यतिबेला भाषण गरिरहेका थिए तर मानिसहरू ढल्न थालेपछि उनले भाषण रोकेर राहत कार्यमा सहयोग गर्न अपिल गरेका थिए ।
प्रहरी प्रशासनले घटनाबारे न्यायिक छानबिन गर्न आदेश दिएको छ । भिड नियन्त्रणमा कमजोरी र व्यवस्थापन अभाव नै दुर्घटनाको मुख्य कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत शीर्ष नेताहरूले दुःख व्यक्त गर्दै मृतक परिवारलाई समवेदना दिएका छन् । तमिलनाडु सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

