काठमाडौँ, असोज १२ गते ।
भ्रष्टाचारविरुद्ध जेन–जी युवाले माइतीघरबाट सुरु गरेको आन्दोलनमा सहभागी भएकी २० वर्षीया लिजा अधिकारी नयाँबानेश्वरमा प्रहरीको गोली लागेर गम्भीर घाइते बनेकी छिन् । हाल ट्रमा सेन्टरमा उपचाररत लिजाले अस्पतालको शय्याबाटै सरकारलाई निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही गर्न आग्रह गरेकी छन् ।
लिजालाई बाँया कुममा गोली लागेको हो । उनले आन्दोलनको क्षण सम्झँदै भनिन्– “हाम्रो जुलुस शान्तिपूर्ण थियो, हामी भ्रष्टाचारविरुद्धको आवाज सरकारलाई सुनाउन चाहन्थ्यौँ, तर प्रहरी हस्तक्षेपले स्थिति बिगार्यो।” गोली लाग्दा पनि उनी केही बेर संसद् भवन अगाडि उभिइन्, पछि आन्दोलनकारीहरूले सहयोग गरेर अस्पताल पुर्याए ।
सो दिन अस्पतालमा १८१ जना घाइते पुगेका थिए । शय्या अभावका कारण धेरैलाई म्याटमा राखेर उपचार गरिएको थियो । लिजाले तत्काल शल्यक्रिया गरेकी छन् तर अझै अर्को शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
गम्भीर घाइते हुँदा पनि लिजा दृढ छिन्– “हामीलाई सडकमा ल्याउने कारण चरम भ्रष्टाचार र अपारदर्शिता हो । नयाँ सरकारले छ महिनामै सकारात्मक कामको सुरुवात गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।”
प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूले अस्पतालमै भेट्दा लिजाले पुनः स्मरण गराइन्– “सड़कमा दिएको बलिदान तब मात्र न्याय पाउँछ, जब दोषीमाथि कारबाही हुन्छ र देश सुशासनतर्फ अघि बढ्छ।”
मोरङ रतुवामाई घर भएकी लिजा आमाको उपचार र भाइको पढाइसँगै आफ्नो पढाइ पनि सम्हाल्दै आएकी थिइन् । केही दिनअघि मात्रै जेन–जी समूहमा आवद्ध भएकी उनले आन्दोलनमा देखाएको साहस अहिले युवापुस्ताका लागि प्रेरणाको विषय बनेको छ । रासस

