काठमाडौं, असोज १६ गते ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने देखिएको छ। सोही कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले विशेषगरी काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, दार्चुला, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी, पर्वत, बागलुङ, म्याग्दी, चितवन, तनहुँ, गोरखा, लमजुङ, धादिङ, नवलपरासी, रौतहट, सिराहा, धनुषा, सर्लाही लगायतका स्थानमा विशेष सतर्कता आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा वर्षाद्वारा प्रभावित हुन सक्ने क्षेत्रमा असुरक्षित स्थानहरूमा बस्न नहुने, अनावश्यक यात्राबाट जोगिनुपर्ने, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय निकायको निर्देशनलाई पालन गर्नुपर्ने, विपद् व्यवस्थापनका साधन र स्रोतहरूको तयारी अवस्थामा राख्नुपर्ने लगायतका सुझाव दिइएको छ।
यस्तै, सम्भावित जोखिम भएका स्थानहरूमा प्रहरी, स्थानीय तह, स्वयंसेवक तथा अन्य सम्बद्ध निकायलाई पूर्ण तयारी अवस्थामा रहन प्राधिकरणले निर्देशन दिएको छ।

