काठमाडौं, असाेज १६ गते ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका महावीर पुनको जीवनयात्रा सहज थिएन। करिब चार दशकअगाडिको एउटा घटनाले उनको पेशागत यात्रा मात्रै होइन, जीवनको बाटो नै परिवर्तन गरिदियो।
२०४३ सालमा चितवनमा शिक्षकका रूपमा कार्यरत पुन परीक्षा सञ्चालनमा खटिएका थिए। त्यही क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कक्षामा शिक्षकलाई अपमानित गर्दै चिट चोरे कारबाही गर्ने चेतावनी दिए। सामान्यतया कसैले मुख नलाउने अवस्थामा महावीरले प्रतिवाद गर्दै विद्यार्थी अगाडि शिक्षकलाई यसरी हप्काउन नमिल्ने बताएका थिए।
सीडीओसँगको यो ‘मुखलागी’को परिणाम गम्भीर भयो। केही दिनमै प्रहरीले उनलाई पक्राउ गरी भरतपुरको प्रहरी चौकीमा ७ दिनसम्म कैद गर्यो। उडुसले भरिएको कोठामा अन्य बन्दीसँगै बिताएको त्यो अनुभवले महावीरको जीवनको दिशा बदल्यो।
रिहा भएपछि उनले सीडीओलाई सोधे, “बिनाकारण किन थुनियो ?” जवाफ नपाएपछि उनले शिक्षण पेशामै बस्न अस्वीकार गर्दै राजीनामा दिए। यही विद्रोही निर्णयले उनलाई काठमाडौं, त्यसपछि अमेरिका हुँदै पुनः नेपाल फर्किने बाटोमा डोर्यायो।
आज उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक मात्र होइन, नेपालको विज्ञान, शिक्षा र प्रविधि नीतिनिर्माणमा अग्रणी भूमिका खेलिरहेका छन्। महावीर भन्छन्– “यदि त्यतिबेला मलाई थुनिएको भएन भने, म कहिल्यै जागिर छोड्दिनँ र अहिलेको जीवन यात्रा सम्भव हुने थिएन।”

