काठमाडौँ, असोज १७ गते ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि असोज २० गतेसम्म राति काठमाडौँ भित्रिने वा बाहिरिने यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसले गर्दा काठमाडौँ उपत्यकामा समेत बाढी, पहिरो र भू–क्षयजस्ता विपद् हुने उच्च सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अत्यन्त जरुरी नभए लामो दूरीको यात्रा नगर्न आग्रह गर्दै भन्नुभयो, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नुहुन अनुरोध छ।”
उद्धारका लागि सम्पर्क नम्बर
विपद् व्यवस्थापनका लागि तत्काल सहयोग आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छः
- जिल्ला प्रहरी परिसर, काठमाडौँ : १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७
- सशस्त्र प्रहरी बल (विपद् उद्धार गण), सिनामंगल : ९८५१२७२०३५, ०१–४४७१३३७
- जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र : ९८५१३६२९३७
यसअघि ललितपुर प्रशासनले पनि कान्ति लोकपथमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। अन्य जोखिमयुक्त जिल्लाले समेत सवारी आवतजावतमा नियन्त्रण गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि मनसुनी गतिविधि सक्रिय भई शनिबार र आइतबार बढी वर्षा हुने र सोमबारतिर मौसम सुधारोन्मुख हुने अनुमान गरिएको छ।

