सिन्धुपाल्चोक, असोज १७ गते ।
भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन पूर्णरूपमा रोक लगाउने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकमार्फत असोज १७ देखि २० गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित रूपमा सञ्चालन गर्न पाउनेछन्।
प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गर्दै सुरक्षा परिचालनका सबै तयारी पूरा भएको जनाएको छ। बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग–वाणिज्य संघ, स्वास्थ्य संस्था तथा स्वयंसेवकलाई विपद् व्यवस्थापनका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

