सिरहा : सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँमा दलित बस्तीमाथि तोडफोड र लुटपाट भएको छ। विश्वकर्मा पूजाको अवसरमा आयोजित आर्केष्ट्रा कार्यक्रममा भएको विवादपछि शान्ति सुरक्षाको माग गर्दै प्रहरी गुहार्दा उल्टै दलित बस्ती आक्रमणमा परेको हो।
अरङ गाउँको ठूलो पोखरीको उत्तरपट्टि बसोवास गर्दै आएका पाँच दलित परिवारका घरमा शुक्रबार दिउँसो करिब २ बजेतिर स्थानीय समूहले आक्रमण गरी तोडफोड र लुटपाट गरेको पीडितहरूले बताएका छन्।
पीडित सोभित पासमानका अनुसार, गाउँमा प्रहरी बोलाएको भन्दै स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइनसहित २०–२५ जनाको समूहले घर आक्रमण गरेका थिए। उनका अनुसार घरभित्र रहेका सामान, सुनचाँदी र नगद समेत लुटिएको छ।
“शान्ति सुरक्षाका लागि कल्याणपुरबाट प्रहरी बोलाएका थियौं, तर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भयो,” पासमानले भने। सभार : नयाँ पत्रिका

