
महाेत्तरी, असोज १९ गते ।
लगातार परिरहेको अविरल वर्षाले धनुषा र महोत्तरी जोड्ने औरही पुलको एक भाग बगाएपछि स्थानीय आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
क्षीरेश्वरनाथ नगरपालिका–३, मंगलपुर र भंगहा नगरपालिका, सीतापुरलाई जोड्ने सो पुलको पूर्वतर्फको भाग बाढीले बगाएपछि यातायात सञ्चालन असम्भव बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
पुलमुनि बहने औरही खोलामा शुक्रबारदेखि नै लगातार पानीको बहाव बढ्दै गएको थियो। आइतवार बिहान तीव्र बहावसँगै पुलको पूर्वमुखी सडकको भाग नदीले बगाएपछि दुबै तर्फका सवारी साधन रोकिएका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादवका अनुसार, खोलाको उच्च बहावले पुलको पूर्वमुख पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। “पुल जोखिमपूर्ण अवस्थामा पुगेको छ, अहिले सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरिएको छ,” उनले भने।
स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने पुल मर्मतका लागि प्राविधिक टोली परिचालन तयारी भइरहेको जानकारी दिएको छ।