
शैलेश गुप्ता
पर्सा, असोज १९ गते ।
अविरल वर्षापछि पर्साको पोखरिया नगरपालिका–५, सतवरिया स्थित दलित बस्तीका ३५ घरमा पानी पसेर बस्ती पूरै जलमग्न भएको छ। पानीले घरभित्र पसेपछि बस्तीका करिब १५० जनाको दैनिक जीवन संकटमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार, बिहानदेखि लगातार बढेको पानीका कारण घरभित्र २ देखि ४ फिटसम्म पानी जमेको छ। चुलो बल्न नसक्दा बस्तीका परिवारले खाना बनाउन र खाने समेत अवस्था पाएका छैनन्। धेरैले भोकै रात बिताएका छन् भने स–साना बालबालिकाहरू भोकले कराइरहेका छन्।
दलित बस्तीका बासिन्दाले खाना पकाउने ठाउँ, बस्ने कोठा र सुत्ने ठाउँ सबै पानीमा डुबेकाले असहज भएको बताएका छन्। “घरभित्रै पानी छ, चुलो बल्दैन, बालबच्चा रुईरहेका छन्,” स्थानीय एक अभिभावकले गुनासो गरे।
पीडित परिवारले तत्काल राहत र सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न नगरपालिकासहित सम्बन्धित निकायसँग गुहार मागेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले पनि तत्काल उद्धार र राहत वितरणको माग गरेका छन्।