
काठमाडौं, असोज १९ गते ।
देशभर निरन्तर वर्षाका कारण विभिन्न स्थानमा क्षति हुँदै जाँदा कोसी प्रदेशमा स्थिति झन् गम्भीर बन्दै गएको छ। हालसम्म देशभर ४९ जनाले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी मृत्यु कोसी प्रदेशका जिल्लामा भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आइतबार साँझ ४ बजेसम्म सप्तरी–सुनसरी सिमानामा रहेको कोसी ब्यारेजमा पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । खतराको तह नाघेपछि ब्यारेजका सवै ५६ ढोका खोलिएको र सतर्कता बढाइएको उनले जानकारी दिए।
पानीको स्तर लगातार बढ्दै गएपछि ब्यारेज क्षेत्रमा सवारीसाधनको अत्यधिक जाम भएको छ। अहिले त्यहाँ साना सवारी, तीनपांग्रे, मोटरसाइकल र आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले नजिकका बस्तीहरूलाई सतर्क रहन र सम्भावित जोखिमका लागि तयार रहन आग्रह गरेको छ।