गाैशाला, असोज २२ गते ।
धनुषाको वटेश्वर गाउँपालिका–१ बडहरी खोला नजिक क्रसर माफियाले अवैध रूपमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
स्थानीय रामशोगारथ महतोका १४ वर्षीय छोरा अविनाश महतो आज साथीसँग नुहाउन गएका बेला उक्त खाल्डोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
वडाध्यक्ष अशोक महतोका अनुसार खेतधनीले स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी क्रसर व्यवसायीसँग मिलेर अवैध उत्खनन गरेको पाइएको छ। उनले भने, “यस्ता घटनाहरू पटक–पटक दोहोरिन थालेका छन्, त्यसैले अब दोषीलाई कानुनी दायरामा ल्याउनैपर्छ ।”
स्थानीयवासीहरूले क्रसर माफिया, स्थानीय निकाय र प्रहरी प्रशासनबीचको मिलेमतोले अवैध उत्खननमा संरक्षण मिलिरहेको आरोप लगाएका छन्। उनका अनुसार “कमिसनको आडमा चल्ने यो अवैध धन्दाले निर्दोष बालबालिकाको ज्यान लिइरहेको” भन्दै तत्काल कारबाहीको माग गरेका छन् ।
वटेश्वर र मिथिला नगर क्षेत्रका खोला–खोल्सामा क्रसर माफियाको गतिविधि निरन्तर चलिरहेको र त्यसकै कारण यसअघि पनि विगही खोलामा खनिएको खाल्डोमा एक बालकको मृत्यु भइसकेको स्थानीयहरूले स्मरण गराएका छन्।

