काठमाडौं, असोज २४ गते ।
नेकपा (एमाले) का शीर्ष नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटेर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। शुक्रबार गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा जोड दिएका हुन्।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीले अब राजीनामा दिनुपर्ने स्पष्ट माग गरेकी थिइन्। उनले पुराना नेताहरूले बिदा लिएर नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखेकी थिइन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि पार्टीलाई नयाँ दिशामा लैजान ओलीले बाटो खोल्नुपर्ने सुझाव दिएको एक सचिवालय सदस्यले जानकारी दिए।
बैठकमा नेताहरूले पार्टीको पुनर्गठन, संसद् पुनर्स्थापना वा निर्वाचनबारे छलफल गरेका छन्। “नेताहरूले आ–आफ्ना विचार खुलस्त राखेका छन्, तर निष्कर्षमा पुगिएको छैन,” एक नेताले बैठकपछि बताएका छन्।
एमालेको सचिवालय बैठक शनिबार पनि बस्नेछ। भोलिको बैठकमा पार्टी महाधिवेशनको मिति तय गर्ने प्रस्ताव आउने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ। महाधिवेशन मंसिरको अन्त्यतिर वा पुसको सुरुवातमा गर्ने प्रस्ताव अघि बढाइने तयारी छ।
पार्टीको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ, जसले महाधिवेशनको अन्तिम मिति तय गर्नेछ।
