तेजराज भट्ट
कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले पालिकाको बजेटबाट आफ्नै घरका लागि एसी, पंखा, इन्भर्टरलगायतका विलासिता सामग्री खरिद गरेको खुलासा भएको छ।
जेन–जी आन्दोलनका क्रममा अध्यक्ष चौधरीको घरमा भएको आगजनीपछि गाउँपालिकाको बजेटबाट ती सामान खरिद गरिएको खुलेको हो। पालिकाको खाताबाट दुई थान एसी, चार थान सिलिङ पंखा, एक थान इन्भर्टर र दुई थान ब्याट्री अध्यक्षको घरमा जडान गरिएको गाउँपालिका स्रोतले जनाएको छ।
आन्दोलनका क्रममा गाउँपालिका कार्यालय र नौवटै वडा कार्यालयसँगै अध्यक्ष र उपाध्यक्षको घरमा समेत आगजनी र तोडफोड भएको थियो। गाउँपालिकाले संकलन गरेको क्षतिको विवरणमा अध्यक्षको घरमा जडान गरिएका ती सामग्रीहरू जलेर नष्ट भएको उल्लेख छ।
गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीका अनुसार ती सामान अध्यक्षले पालिकाको बजेटबाट खरिद गरेका थिए, तर पछि रकम फिर्ता गर्ने सहमति भएको हो। “म यहाँ आएको एक वर्ष जति भयो। ती सामान मेरो कार्यकालभन्दा अघि खरिद गरिएका हुन्। आगजनीमा नष्ट भएपछि अध्यक्षबाट रकम दाखिला गराउने कुरा भएको छ,” जोशीले बताए।
यस विषयमा बुझ्न खोज्दा अध्यक्ष चौधरीको मोबाइल सम्पर्कविहीन रहेको बताइएको छ।
स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका चौधरी पछि नेपाली कांग्रेसमा फर्किएका हुन्। उनले उठाएका नौ वटै वडाका उम्मेदवार पनि जितेका थिए ।
वडाको सेवा गाउँपालिकाबाटै
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा गाउँपालिका कार्यालय, सबै नौवटा वडा कार्यालय, अध्यक्ष र उपाध्यक्षको घरमा आगजनी भएको थियो। आगजनीमा उपाध्यक्षको घरमा रहेको सरकारी स्कुटी, ल्यापटप, मोबाइल र पावर बैंक समेत नष्ट भएको गाउँपालिकाले जनाएको छ।
वडा कार्यालयहरूमा कागजात, कम्प्युटर र फर्निचर सबै जलेपछि अहिले वडाको सेवा गाउँपालिकाबाटै प्रदान भइरहेको छ। गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार सात वटा वडा कार्यालयका भवनमा समेत क्षति पुगेको छ।
“वडामा कागजपत्र, कम्प्युटर, टेबल, कुर्सी केही पनि बाँकी छैन,” कलेलले भने, “त्यसैले अहिले कृषि शाखाबाट नौवटै वडाको सेवा सञ्चालन गरिएको छ।”
मुख्य प्रशासकीय अधिकृत जोशीका अनुसार भवन क्षतिग्रस्त भएकाले वडाहरूबाट सेवा दिन सक्ने अवस्था छैन । सभार : नयाँ पत्रिका
