गाैशाला, असाेज २६ गते ।
महाेत्तरीकाे बर्दिबास नगरपालिका–१३ स्थित श्री जनता माध्यमिक विद्यालय, डाँडाटोल बिजलपुराको शैक्षिक सुधारका लागि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन र स्थानीय निकायलाई १३ बुँदे मागसहित ७ दिने चेतावनीपत्र बुझाएको छ।
विद्यालयको शैक्षिक स्तर निरन्तर कमजोर हुँदै गएको भन्दै स्थानीय बासिन्दा र अभियानकर्मीहरूले बर्दिबास–१३ का वडा अध्यक्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक हरिदेव महतो, र नगर प्रमुख प्रल्लाद कुमार क्षेत्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्।
अभियान संयोजक राज करण महतोका अनुसार विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो। उनले भने, “हामीले विद्यालय सुधारका लागि सुझावसहितको मागपत्र बुझाएका छौं। सात दिनभित्र कुनै प्रक्रिया सुरु नभएमा चरणबद्ध दबाबमूलक कार्यक्रम गर्न बाध्य हुनेछौं।”
मागपत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसहितको विद्यालय व्यवस्थापन समिति गठन, शिक्षण–सिकाइ प्रक्रियाको अनुगमन, बाल क्लब र पूर्वविद्यार्थी मञ्चको सक्रियता, अक्षय कोष स्थापनाद्वारा छात्रवृत्ति वितरण, अभिभावक बैठकको नियमितता, र सर्वपक्षीय सुधार योजना निर्माणजस्ता बुँदा समावेश छन्।
स्थानीय बासिन्दा र अभिभावकहरूले विद्यालयको निरन्तर गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समयमै सुधारका कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
अभियानका १३ मुख्य माग र सुझावहरू
- विज्ञसहितको विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्नुपर्ने।
- शिक्षण–सिकाइ प्रक्रियाको नियमित निरीक्षण तथा अनुगमन गर्न टोली गठन गर्नुपर्ने।
- विद्यालयस्तरीय बाल क्लबको सक्रियता र नियमितता सुनिश्चित गर्नुपर्ने।
- प्रत्येक महिनामा प्रेरणादायी व्यक्तित्वबाट गेष्ट लेक्चर कार्यक्रम सञ्चालन गर्नुपर्ने।
- विद्यालयका पूर्वविद्यार्थीहरूको सहभागितामा पूर्वविद्यार्थी मञ्च गठन गर्नुपर्ने।
- प्रधानाध्यापकको पहलमा सर्वपक्षीय बैठक गरी विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने।
- विद्यार्थीहरूको निरन्तर शैक्षिक विकासका लागि अक्षय कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्नुपर्ने।
- अभिभावक भेलालाई सक्रिय र नियमित बनाइनुपर्ने।
- शिक्षक–अभिभावक संघको नियमित बैठकमार्फत प्रभावकारिता बढाउनुपर्ने।
- विद्यालय सुधारका लागि टोलटोलमा आमा समूह गठन गर्नुपर्ने।
- विद्यालयको विकासका लागि जनसमुदाय र सरोकारवालासँग आर्थिक सहयोग जुटाउन समन्वय समिति गठन गर्नुपर्ने।
- विद्यालयमा आधारभूत पूर्वाधार र सफाइको अवस्था सुधार गर्न तत्काल पहल गर्नुपर्ने।
- विद्यार्थीको हाजिरी, सिकाइ उपलब्धि र अनुशासनमा सुधार ल्याउन अनुगमन प्रणाली लागू गर्नुपर्ने।
अभियानकर्मीहरूका अनुसार यदि मागहरू कार्यान्वयन भए विद्यालय पुनः उत्कृष्ट शिक्षण केन्द्रका रूपमा परिचित हुनेछ भने बेवास्ता गरे दबाबमूलक आन्दोलन तीव्र पारिने चेतावनी दिइएको छ ।

