गाैशाला, कार्तिक २ गते ।
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाअन्तर्गत बलवा नगरपालिका–११ स्थित धमौरा (रौजा) बर्थिङ स्वास्थ्य चौकीमा आवश्यक बर्थिङ सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

One Heart Worldwide को आर्थिक सहयोग र रतौली युवा क्लबको प्राविधिक सहकार्यमा सञ्चालित परियोजनाको उद्देश्य ग्रामीण महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा, गर्भजाँच तथा नवजात शिशु स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउनु रहेको छ।

एक औपचारिक समारोहका बीच रतौली युवा क्लबका अध्यक्ष मोहम्मद साकिर खानले स्वास्थ्य संस्था व्यवस्थापन समिति र वडा नं. ११ का अध्यक्ष अशोक कुमार यादवलाई सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बलवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार माझी, स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्य, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, जग्गादाता प्रतिनिधि र क्लबका कर्मचारीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा परियोजनाका संयोजक राजकुमार महतोले हस्तान्तरण गरिएका सामग्रीहरूको प्रयोगविधि र प्रभावकारिताबारे जानकारी दिँदै यसले मातृ तथा नवजात स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। क्लब अध्यक्ष खानले सामग्रीको उचित व्यवस्थापन र प्रयोगमार्फत समुदायका महिलाहरूलाई समयमा नै गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष यादवले One Heart Worldwide र रतौली युवा क्लबबाट प्राप्त सहयोगको सराहना गर्दै यस्ता सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।

बर्थिङ सामग्री उपलब्ध भएपछि धमौरा स्वास्थ्य चौकीले अझ प्रभावकारी र सुरक्षित सेवा प्रदान गर्न सक्ने विश्वास लिइएको छ। यसले सुरक्षित मातृत्व सुनिश्चित गर्न र मातृ तथा नवजात मृत्युदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



