गाैशाला, कार्तिक ३ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले दीपावली पर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै पर्वलाई सजग र सुरक्षित ढंगले मनाउन आग्रह गर्नुभएको छ।
उहाँले दीपावलीका बेला पटाका पड्काउँदा, दियो वा मैनबत्ती बाल्दा र झिलिमिली बत्ती जडान गर्दा विशेष सतर्कता अपनाउन नगरवासीलाई अनुरोध गर्नुभयो । “हरेक वर्ष दीपावलीको समयमा कतै न कतै दुर्घटना हुने गरेको पाइन्छ, त्यसैले पटाका पड्काउँदा सुरक्षित दूरीमा रहनुहोस् र बालबालिकालाई निगरानीमा राख्नुहोस्,” नगर प्रमुख महतोले भन्नुभयो ।
उहाँले आगो लाग्ने सम्भावना हुने पर्दा वा कपडाको नजिक दियो वा मैनबत्ती नराख्न र विद्युतीय बत्ती जडान गर्दा पनि सावधानी अपनाउन सुझाव दिनुभयो । डा. महतोका अनुसार, विगतमा लापरवाहीका कारण बालबालिका तथा परिवारजनलाई क्षति हुने घटना भएका छन्, त्यसैले यस वर्ष थप सतर्कता आवश्यक छ ।
यदि कुनै दुर्घटना वा आकस्मिक अवस्था सिर्जना भएमा तुरुन्तै सम्पर्क गर्न सकिने व्यक्तिहरूको नम्बर पनि सार्वजनिक गरिएको छ ।
- नगर प्रहरी प्रमुख टेकबहादुर लामा: ९८५४०३४६१५
- वारुण यन्त्र इन्चार्ज रामपुकार महतो: ९८६४०८४३६७
- वारुण यन्त्र चालक: ९८४४३३०३३१
नगर प्रमुख महतोले अन्त्यमा सबै नगरवासीलाई “सजग, सुरक्षित, उज्यालो र हर्षोल्लासपूर्ण दीपावलीका लागि हार्दिक शुभकामना” व्यक्त गर्नुभएको छ।

