राजधानी टुडे संवाददाता
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीका (किजापूजा) को शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा पर्ने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिले बिहीबार (कार्तिक ६ गते) भाइटीका लगाउने साइत र सम्बन्धित जानकारी सार्वजनिक गर्दै एक विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “भाइटीका (किजापूजा) को शुभसाइत बिहान ११:३९ बजे रहनेछ, टीका लगाउन भनेपछि पनि सकिन्छ ।”
यससँगै समितिले २०८२ सालको शुभ दीपावली, नेपाल संवत् ११४६ को प्रारम्भ र छठपर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा भाइटीका सम्बन्धी सबै विवरण स्पष्ट पारिएको छ।
🪔 शुभ दीपावली तथा नेपाल संवत् ११४६ सालको मंगलमय शुभकामना !
किन मनाइन्छ भाइटीका ?
भाइटीका दिदीबहिनी र दाजुभाइबीचको माया, आशीर्वाद र पारिवारिक सम्बन्ध सुदृढ गर्ने पर्व हो।
यस दिन दिदीले भाइको ललाटमा पाँच रङको टीका (अक्षता, अबिर, चन्दन, केशर र दूर्वा) लगाएर दीर्घायु र सुख–समृद्धिको कामना गर्छिन्।
भाइले पनि दिदीलाई सम्मानस्वरूप उपहार प्रदान गर्छ।
यो पर्व पारिवारिक माया, एकता र बन्धुत्वको प्रतीक मानिन्छ।
—
कहिले सुरु भयो भाइटीका ?
पौराणिक कथाअनुसार भाइटीकाको सुरुवात सत्ययुगमा भएको हो।
कथानुसार मृत्युलोकका राजा यमराज र यमुनाबीचको भेट नै भाइटीकाको मूल घटना हो।
यमुनाले दाजु यमराजलाई घरमा निम्त्याएर स्नान, पूजा, टीका र परिकारले सत्कार गरेकी थिइन्।
उनको प्रेम र स्नेहले प्रभावित भएका यमराजले सोधे, “दिदी, तिमी के वर चाहन्छ्यौ ?”
त्यसमा यमुनाले भनिन् — “मेरा दाजुहरू दीर्घायु र सुखी रहून्।”
त्यही दिनदेखि कार्तिक शुक्ल द्वितीयाका दिन दिदीले भाइलाई टीका लगाउने परम्परा सुरु भएको विश्वास छ।

