गौशाला, कार्तिक ६ गते ।
हिन्दुहरूको महान चाड दशैं, दीपावली र छठ पर्वको अवसरमा सामुदायिक विकास युवा क्लब, गौशाला नगरपालिका–१२ कान्तिबजारद्वारा तेस्रो ‘स्व. मुन्नी मिश्रि स्मृति पुरुष भलिबल प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको छ।
प्रतियोगिता श्री राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारको प्राङ्गणमा कार्तिक ७ गते बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजक टिमका कप्तान सुरज महतोले खेल भलिबल संघको नियम अनुसार नै सञ्चालन गरिने जानकारी दिए । यस वर्षको प्रतियोगितामा सर्लाही, महोत्तरी र धनुषा जिल्लाका गरी जम्मा १८ टिमले भाग लिएको कप्तान महताेले बताए ।
प्रतियोगितामा पहिलो हुने टिमलाई २२ हजार नगद, सिल र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई ११ हजार नगद, सिल र मेडल पुरस्कारका रूपमा दिइने अध्यक्ष सन्तोष सिंहले जानकारी दिएका छन् ।

