काठमाडौं, कार्तिक ६ गते ।
पछिल्ला २५ वर्षदेखि कुष्ठ रोग प्रभावित, अपाङ्ग, गरिब तथा भूमिहीन समुदायका अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका राष्ट्रिय स्वयम् सहायता तथा सहकारी समूह ललितपुरका राष्ट्रिय उपाध्यक्ष विजय पासवानलाई सामाजिक विकास मन्त्री बनाउने माग उठेको छ।
पासवानले लामो समयदेखि देशभरका कुष्ठ प्रभावित, अपाङ्ग, वञ्चित र सीमान्तकृत वर्गका अधिकारका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। उनी स्वास्थ्य सेवा, आवास, शिक्षा, रोजगार र सामाजिक समावेशिताका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै आएका छन्।
समुदायका अगुवा र विभिन्न सहकारी समूहका प्रतिनिधिहरूले पासवानजस्ता जनसेवामा समर्पित व्यक्ति मन्त्री बनेमा कुष्ठ प्रभावित र भूमिहीन समुदायको आवाज प्रभावकारी रूपमा सरकारसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्।
पासवानका अनुसार, “कुष्ठ रोग केवल स्वास्थ्यको विषय मात्र होइन, यो सामाजिक न्याय र मानव अधिकारसँग पनि सम्बन्धित मुद्दा हो।” उनका भनाइमा, नीतिगत स्तरमै परिवर्तन ल्याउन निर्णय क्षमतायुक्त पदमा जनप्रतिनिधिको पहुँच जरुरी छ।
सामाजिक न्याय, समान अवसर र समावेशी विकासका क्षेत्रमा निरन्तर सक्रिय पासवानलाई मन्त्रीस्तरीय जिम्मेवारी दिएर राज्यले सामाजिक रुपान्तरणको दिशामा ठोस कदम चाल्नुपर्ने स्थानीय समुदायको माग रहेको छ।

