मकवानपुर, कार्तिक ६ गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय सोमलाल गोलेको दुईतले कच्ची घरमा विद्युत सर्ट हुँदा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आगलागीका कारण घरभित्र रहेका नगद दुई लाख रुपैयाँ, अन्नपात, सुन दुई तोला, चाँदी चार तोला, भाँडाकुँडा, लत्ता–कपडा, खाट, टेबल, कुर्सी, टिभी, मिटर बक्स, कागजात लगायतका सामान जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट करिब तेह्र लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घर पूर्ण रूपमा जलेपछि गोलेको परिवार हाल आफ्नै भाइको घरमा बस्न गएको जनाइएको छ । आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको र मानवीय तथा चौपाया क्षति नभएको प्रहरी चौकी खानिखेत, मकवानपुरले जनाएको छ।

