जनकपुरधाम, कार्तिक ६ गते ।
दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासमानले राजनीतिक रूपमा पछाडि पारिएका समुदायहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा संयोजक पासमानले डोटिम परिसंघ मन्त्री वा सांसद बन्नका लागि होइन, सबै समुदायको अपनत्व हुनेगरी स्थापनाको उद्देश्य रहेको स्पष्ट पारे।
उनका अनुसार, “डोटिम परिसंघमा आवद्ध समुदायलाई सधैं राजनीतिक मूलधारबाट पछि पारिन्छ, तर अब हामी आफैं अघि बढ्नेछौं र देशमा बन्ने जुनसुकै सरकारको नेतृत्व गर्न सक्षम हुनेछौं।”
परिसंघका महासचिव शशि मियाँ कपूरले नेपालका सबै राजनीतिक दलहरूले परिसंघमा पर्ने क्लस्टरमा संगठन खोले पनि सदस्यहरूलाई मूलधारमा ल्याउने काम नगरेको आरोप लगाए।
उनले भने, “यो परिसंघले राजनीतिक रूपमा संगठित भएर पनि अवसरबाट वञ्चित भएका समुदायलाई अब अघि बढ्न सहयोग पुर्याउनेछ।”
परिसंघका प्रमुख सल्लाहकार तथा कल्पनाकार पी.के. ठाकुरले राजनीतिक दलहरूले प्रयोग गरेर अन्ततः अवसरबाट वञ्चित र हिंसाको सिकार बनाइएका समुदायलाई अब फ्रन्टलाइनमा ल्याइने बताए।
उनका अनुसार, “संख्याका आधारमा जसको जति जनसंख्या छ, त्यसकै अनुपातमा भागीदारी र हिस्सेदारी सुनिश्चित गर्न” परिसंघको स्थापना गरिएको हो।
सल्लाहकार ठाकुरले परिसंघको नारा ‘आवाज दो, हम एक हैं’ रहेको बताउँदै सबै समुदायबीच एकता आवश्यक भएको उल्लेख गरे।
त्यसैगरी, केन्द्रीय सदस्य रसना यादवले संवैधानिक व्यवस्थामा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा एउटै समुदायको वर्चस्व रहँदै आएको भन्दै दलहरूले मत लिएर पनि अवसर नदिएको आरोप लगाइन्।
परिसंघले निकट भविष्यमा प्रदेश र जिल्लास्तरमा संगठन विस्तार गर्ने तयारी गरेको पनि जानकारी गराइएको छ।

