राैतहट, कार्तिक ७ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ।
स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक धुवाँको मुस्लो देखिएपछि आगलागी भएको थाहा भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
आगो फैलिन नदिनका लागि स्थानीय बासिन्दा, उद्योगका कामदारहरू र चन्द्रपुर नगरपालिकाको दमकल टोलीले संयुक्त प्रयास गरेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार अहिले पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र क्षतिको यकिन विवरण संकलन भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आगलागीबाट मानवीय क्षति नभएको पुष्टि गरेको छ भने भौतिक क्षतिको मूल्याङ्कन पछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

