फोहोर मिसिँदा नहरको पानी दुर्गन्धित, सरसफाइ अभियान सुरु हुँदै
सिरहा, कार्तिक ७ गते ।
कमला नदीको पूर्वी सिँचाइ प्रणालीअन्तर्गत मिर्चैया नगरपालिका–१ मन्हर्वास्थित नहर पछिल्लो समय तीव्र रूपमा दूषित बन्दै गएको छ। स्थानीय घरधुरीबाट चर्पी तथा ट्वाइलेटको फोहोर पानी नहरमा मिसाइँदा नहरको पानी दुर्गन्धित मात्र नभई धार्मिक दृष्टिले समेत अशुद्ध बनेको स्थानीयबासीले बताएका छन् ।
हिन्दू धर्मावलम्बीका लागि कमला नहरको पानी धार्मिक रूपमा पवित्र मानिन्छ। छठ पर्व, वडा दशैं, साउने सोमबारी, चैती दुर्गा पूजा, कृष्ण जन्माष्टमी, जितिया लगायतका प्रमुख पर्वमा यिनै नहर तथा कमला नदीको पानी पूजापाठमा प्रयोग गर्ने परम्परा रहँदै आएको छ। कतिपय स्थानका बासिन्दा यही पानी पिउने समेत गर्छन् ।

तर मन्हर्वा क्षेत्रका केही घरधुरीले घरायसी फोहोर, चर्पी तथा ट्वाइलेटको पानी पाइपमार्फत सिधै नहरमा बगाउँदै आएको पाइएको छ। त्यसमाथि, प्लास्टिक, फोहरा र ठोस फोहोर जथाभावी फालिँदा पानीको शुद्धता र वातावरणीय सन्तुलन दुवै संकटमा परेका छन्।
धार्मिक, सामाजिक र पर्यावरणीय महत्व बोकेको नहर निरन्तर दूषित बन्दै गएपछि स्थानीय स्तरबाट सुधारको पहल सुरु गरिएको छ। मिर्चैया नगरपालिका–१ का वडा अध्यक्ष रूपेश महतोको पहलमा भोलि (कात्तिक ८ गते, शनिबार) उक्त क्षेत्रमा सिँचाइ नहर सरसफाइ अभियान सञ्चालन हुने भएको छ।
नहर सङरक्षक समितिका प्रतिनिधि दिपेन्द्र यादवका अनुसार दूषित फोहोर पानी मिसाइरहेका चर्पी तथा ट्वाइलेटका पाइप हटाइने र नहरको डिल सफाइ गर्न जेसीबी प्रयोग गरिनेछ।
स्थानीय बासिन्दाहरूले धार्मिक आस्थासँग जोडिएको नहरको पवित्रता जोगाउन सशक्त निगरानी र दीर्घकालीन समाधानको माग गरेका छन् ।

