अजय मिश्र
कपिलवस्तु, कार्तिक ७ गते ।
कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको अवसरमा स्थापना गरिएका देवी लक्ष्मीका मूर्तिहरू भव्य र सभ्य तरिकाले प्रहरीको कडा सुरक्षाबीच हिजो र आज विसर्जन गरिएको छ।
कृष्णनगर बजारमा स्थापना गरिएका मूर्तिहरू जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूको अगुवाइमा बजार परिक्रमा गराउँदै विसर्जन स्थलसम्म पुर्याइएको थियो। भक्तजनहरूले नाचगान, भजनकीर्तन र जयघोषका साथ मूर्तिलाई नगर परिक्रमा गराएका थिए।
हिन्दू धर्मावलम्बीहरूले विशेष गरी तराई–मधेस क्षेत्रमा लक्ष्मी पूजाको अवसरमा देवी लक्ष्मीको विशेष पूजापाठ गरी मूर्ति विसर्जन गर्ने परम्परा रहेको छ। विसर्जनका क्रममा सम्भावित अव्यवस्था र झडप रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले ड्रोन क्यामराको माध्यमबाट सम्पूर्ण गतिविधि निगरानी गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार नगर क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा स्थापना गरिएका मूर्तिहरूलाई सुरक्षासहित शान्तिपूर्वक विसर्जन गरिएको हो।
विसर्जन कार्यक्रममा एम्बुलेन्स, दमकल तथा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका गाडीहरू समेत तयारी अवस्थामा राखिएका थिए, ताकि कुनै आकस्मिक घटना वा विद्युत तारको क्षति हुन नपाओस्।
मूर्ति विसर्जन कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, युवा नेता कुनाल प्रताप शाह, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

