राजेश सिंह
गाैशाला, कार्तिक ९ गते ।
तराई–मधेससहित देशभर आज छठ पर्वको दोस्रो दिन खरना पूजा श्रद्धा र भक्ति सहित मनाइँदै छ ।
चार दिन लामो छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ सम्पन्न भएपछि आज व्रतालु महिलाहरूले पूरै दिन निर्जला उपवास बसेर साँझ सूर्यास्त पछि खरना पूजा गर्छन् । सूर्य अस्ताएपछि नुहाएर चोखो वस्त्र धारण गरी दूध, गुड र चामलबाट तयार गरिएको खीर, पुअ र फलफूलको साथमा छठी माताको आराधना गरिन्छ ।
खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरू पुनः निर्जल रहँदै तेस्रो दिन अर्थात् भोलि संध्याकालीन सूर्यलाई ‘पहिलो अर्घ्य’ दिने तयारी गर्छन् ।
छठ पर्वको चार दिनमध्ये खरना दिवसलाई विशेष धार्मिक र आत्म संयमको प्रतीक मानिन्छ । यस अवसरमा घरघरमा धार्मिक माहोल सृजना भएको छ भने नदी, तलाउ र पोखरी किनारहरूमा पनि व्रतालु र भक्तजनको भीड देखिएको छ ।
छठ पर्वको मुख्य आकर्षण भनेको भोलि साँझ र पर्सि बिहान सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने परम्परा हो ।

