गौशाला, कार्तिक ९ गते ।
गएको शनिबार (कार्तिक ८ गते) गौशाला नगर युवा सञ्जाल वडा नं. ६ का संयोजक मनोहर यादवको नेतृत्वमा करिब ४०–५० जना युवाहरूले फुलकाहा क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका थिए ।
उक्त अभियान अन्तर्गत बाटोमा अवरोध पुर्याइरहेका फोहोर वस्तु र झाडीहरू सफा गर्ने क्रममा केही व्यक्तिहरूले दुव्र्यवहार र अवरोध गरेको सञ्जालले जनाएको छ। सो क्रममा मनोहर यादव र उनका परिवारका पाँच जना सदस्यमाथि समेत आक्रमण प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।
गौशाला नगर युवा सञ्जालले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीहरूलाई छानबिन गरी कानुनी कारबाहीको माग गरेको छ। साथै, सञ्जालले युवाहरूलाई संयम, एकता र सचेत रहन आग्रह गर्दै, “अपराधिक मानसिकता भएका तत्वहरूबाट विचलित नभई समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर अग्रसर रहनु आवश्यक छ” भन्ने जनाइएको छ ।
सञ्जालका सहसंयोजक भागवत कुमार शाह र संयोजक भरत महतो कोईरीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा संयोजक यादव र उनका परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

