गाैशाला : महोतरीकाे गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबल प्रतियोगितामा आयोजक सामुदायिक विकास युवा क्लबले उपाधि कब्जा गरेको छ ।
सामुदायिक विकास युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टोलीले सतनाम युवा क्लब, बसनिया (सर्लाही)लाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
आइतबार सम्पन्न फाइनल खेल पाँच सेटसम्म तानिएको थियो। पहिलो सेटमा सतनाम युवा क्लबले कडा चुनौती प्रस्तुत गरे पनि आयोजक सामुदायिक विकास युवा क्लबले लगातार तीन सेट जित्दै जित पक्का गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद भरत प्रसाद साह र गौशाला नगरपालिका प्रवक्ता रामपृत महतोले संयुक्त रूपमा विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरे । विजेता बनेको सामुदायिक विकास युवा क्लबले नगद २२ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सतनाम युवा क्लबले नगद ११ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
गौशाला नगरपालिका–१२ का स्वर्गीय समाजसेवी मिश्रीलाल सिंह र मुन्नी देवीको स्मृतिमा आयोजित यो प्रतियोगिता क्लबले पछिल्ला तीन वर्षदेखि छठ पर्वको अवसरमा आयोजना गर्दै आएको हो । यस वर्षको तेस्रो संस्करणमा महोत्तरी, सर्लाही र धनुषा जिल्लाका १९ टिमले सहभागिता जनाएका थिए।

