गौशाला, कार्तिक ९ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका घर टहराहरू हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ । नगर कार्यपालिकाको कार्यालय, गौशाला–महोत्तरीले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक जग्गा कब्जा गरी घर, टहरा वा पसल निर्माण गर्ने सबैलाई निर्धारित म्यादभित्र स्वेच्छिक रूपमा खाली गर्न आग्रह गरेको हो ।
नगरपालिकाका अनुसार, गौशाला नगर अस्पताल भवन आसपासको सार्वजनिक क्षेत्र र अन्य स्थानमा अवैधानिक रूपमा संरचना निर्माण भएका छन् । ती संरचनाहरू नहटाए नगरपालिकाले जबरजस्ती हटाउने र त्यसबाट हुने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।

नगर प्रमुख डा. दिपेन्द्र महतोद्वारा हस्ताक्षरित पत्र अनुसार “सार्वजनिक जग्गामा बनाइएका सम्पूर्ण घर, टहरा र पसलहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली नगरे हटाइनेछ, र त्यसबाट हुने खर्च पनि सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ ।”
नगरपालिकाले स्थानीयवासीलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गर्दै नगर अस्पताल क्षेत्र तथा सार्वजनिक जमिनमा कुनै पनि नयाँ संरचना नबनाउन आग्रह समेत गरेका छन् ।

