गौशाला, कार्तिक १० गते ।
महोत्तरीको गौशाला नगरपालिका–०१ स्थित मल्हिनिया पोखरी किनारमा यस वर्ष पनि गौशाला बहुसंस्कृति कला केन्द्रद्वारा छठ पूजा साँस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ । विगत सात वर्षदेखि निरन्तर रूपमा छठ पर्वको अवसरमा आयोजना हुँदै आएको यो कार्यक्रम अहिले तयारीको अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।

छठ पर्वलाई आस्था, श्रद्धा र आत्मिक समर्पणको प्रतिकका रूपमा मनाइन्छ । सूर्यदेव र छठी माईको आराधना गर्दै परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्ने यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश दिन्छ ।

आज सोमबार (कार्तिक १० गते) छठ पर्वकै दिन साँझ ७:०० बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय कलाकार, विद्यार्थी, बालबालिका र युवाहरूले विविध सांस्कृतिक प्रस्तुति दिनेछन् । भक्तिगीत, नृत्य, नाटक र पारम्परिक मधेशी कला–संस्कृतिले कार्यक्रम स्थललाई उत्सवमय बनाउने तयारी गरिएको छ ।

कार्यक्रममा नगरवासी, दाजुभाइ, दिदीबहिनी, समाजसेवी र युवाहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ । गौशाला बहुसंस्कृति कला केन्द्रका अध्यक्षका अनुसार “छठ पर्व हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो । यसले समाजमा सद्भाव र धार्मिक सहअस्तित्वको सन्देश दिन्छ । हामी यो कार्यक्रम हाम्रो सांस्कृतिक पहिचानको जगेर्नाका लागि गर्दै आएका हौं ।”






