काठमाडौं, कार्तिक ११ गते ।
अमेरिकामा आयोजित ‘अब सुन्छ अमेरिका’ कार्यक्रममा सहभागी भएकी गायिका एलिना चौहान आयोजकसँगको विवादपछि कार्यक्रम नसकी आफैं टिकट काटेर नेपाल फर्केकी छन्।
उनीले आयोजक विनोद अधिकारी (फ्लाइ नेपा ट्राभल्सका सञ्चालक)माथि कलाकारलाई टर्चर दिने, अपमानजनक व्यवहार गर्ने र आम्दानीको अधिकांश हिस्सा आफूले मात्र राख्ने आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत चौहानले लेखेकी छिन् — “कलाकारलाई सम्मान होइन, नोकरझैं व्यवहार गरियो।” उनका अनुसार, दुई कार्यक्रम बाँकी रहँदै उनले अमेरिका भ्रमण बीचमै छाडेकी थिइन्।
तर आयोजक अधिकारीले भने सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कलाकारहरूसँगको सबै सम्झौता पूरा भएको दाबी गरेका छन्।
यसै टुरमा सहभागी अर्की गायिका कला लम्साल पनि असन्तुष्ट रहँदै बीचमै फर्किएकी थिइन्। उनको पुरानो नसासम्बन्धी समस्या बल्झिएपछि उपचारका लागि सहयोग माग्दा आयोजकले बेवास्ता गरेको आरोप उनले लगाएकी थिइन्।
नेपाल फर्किएपछि लम्सालले सामाजिक सञ्जालमा लेखेकी थिइन् —
“मेरो स्वास्थ्य अवस्था जटिल बन्दा उपचारको लागि पहल गर्न आयोजकसँग आग्रह गरेँ, तर वास्ता गरिएन। उल्टै बिरामी छु नभन्न आदेश आयो, त्यसैले म बाध्य भएर नेपाल फर्कें।”

तर त्यतिबेला एलिना चौहानले भने आयोजकको बचाउ गर्दै लेखेकी थिइन् —
“कला लम्साल स्वास्थ्यका कारण आफ्नै इच्छाले नेपाल फर्किएकी हुन्। आयोजकले जबरजस्ती फर्काएको भन्ने कुरा पूर्ण रूपमा गलत हो।”
यद्यपि अहिले एलिनाले आफूलाई पनि आयोजकले दुर्व्यवहार गरेको भन्दै सार्वजनिक प्रतिकार गरेकी छन्। यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।
कला लम्सालले पनि एलिनाको पछिल्लो अभिव्यक्तिप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिँदै लेखेकी छिन् —
“पृथ्वी गोलो छ नि है, कसैले उचाल्दा माथि पुगेको बल थेचारिने भुइँमै हो।”
गत साउन २९ गते ‘फ्लाइ नेपाल’का आयोजक विनोद अधिकारीको नेतृत्वमा गायिका एलिना चौहान, कला लम्साल, गायक बद्री पंगेनी र प्रताप दास अमेरिका प्रस्थान गरेका थिए ।

