काठमाडौं, कार्तिक १३ गते ।
देशभर पछिल्ला दिनमा पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव देखिएको छ। उक्त प्रभावका कारण बिहीबार बिहानदेखि उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु सक्रिय छ भने, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को पनि नेपालमा आंशिक प्रभाव परेको हो।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अधिकांश समय बादल लाग्ने र तराईका क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने भन्दै त्यहाँका बासिन्दा र किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

