काठमाडौं, कात्तिक १४ गते ।
तुइन खोलानजिक खसेको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ। शुक्रबार बिहान तुइन खोला पुलको नजिकै पहिरो खसेर सडक केही समयका लागि अवरुद्ध भएको थियो।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो खसेको करिब आधा घण्टामै सडक सञ्चालनमा ल्याइएको हो। उनका अनुसार तयारी अवस्थामा रहेका मेसिनहरू प्रयोग गरेर तुरुन्तै ढुंगामाटो हटाइएकाले सवारी साधनहरू अब सहज रूपमा आवागमन गर्न थालेका छन्।
सडक डिभिजन भरतपुरले जारी गरेको सूचनामा भनिएको छ,
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक माथिबाट ढुंगा खसेर सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। ढुंगा झर्ने क्रम रोकिएकाले मेसिन प्रयोग गरी पहिरो हटाउने कार्य भैरहेको छ।”
हाल उक्त सडकखण्डमा सवारी साधनहरू सहज रूपमा सञ्चालनमा रहेका छन्।
यो मार्ग देशको प्रमुख व्यापारिक र यातायातिक नाकामध्ये एक भएकाले सडक सञ्चालनमा आउनु यात्रु र चालक दुवैका लागि राहतको विषय बनेको छ।

