काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर निरन्तर वर्षा भइरहेकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका अधिकांश प्रदेशमा वर्षा र बदली यथावत् रहेकामा कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा मध्यमदेखि भारी हिमपात हुन सक्ने उल्लेख गरिएको छ।
महाशाखाले भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, किसान र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

