जनकपुरधाम, कात्तिक १४ गते ।
प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको छ। बिहीबार जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न भएको हो।
बैठकमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले यस वर्ष हुने कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरे। उनका अनुसार, यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरूसहितको जन्ती टोली जनकपुर आउनेछ। जानकी मन्दिरले जन्तीको स्वागत, सत्कार र आवासको व्यवस्था गर्ने तयारी गरेको छ।
महन्त दासका अनुसार, सप्ताहव्यापी महोत्सव कार्यक्रम अन्तर्गत यस वर्ष मंसिर ४ गते नगर दर्शन, ५ गते फूलबारी लिला, ६ गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, र ९ गते स्वयम्वर तथा विवाह महोत्सव आयोजना हुनेछ। मंसिर १० गते रामकलेवा विधि सम्पन्न गरी जन्ती टोलीलाई विदा गरिनेछ।
यस वर्ष पनि विभिन्न समितिहरू गठन गरी हरेक समितिलाई जिम्मेवारी तोक्ने तयारी गरिएको महन्त दासले जानकारी दिए। उनका अनुसार महोत्सवलाई यसपटक अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिनेछ।
बैठकमा जानकी मन्दिरका बडे महन्त राम तपेश्वर दास वैष्णवले देशभर आन्दोलनको चर्चा चलिरहेका बेला सबैलाई शान्त रहन र अहिंसात्मक रूपमा समस्या समाधान गर्न आग्रह गरे।
उनले भने, “यो देश शान्तिको देश हो। वार्ता र सहमतिका माध्यमबाट मात्र समस्या समाधान गर्न सकिन्छ। आन्दोलन र हिंसाबाट देशले फाइदा पाउँदैन।”
जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुवै देशका श्रद्धालुहरूको आकर्षणको केन्द्र मानिन्छ, जसमा प्रत्येक वर्ष लाखौं भक्तजन सहभागी हुने गर्छन्।

