राजेश सिंह
गाैशाला, कार्तिक १५ गते ।
महाेत्तरीकाे साेनमा गाउँपालिका – ८ मा रहेको युवा सराेकार बचत तथा ऋण सहकारी संस्था लि. साेनमाकाे १५ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका ४ स्थित जिराेमाइल रहेको कबडहलमा युवा सराेकार बचत तथा ऋण सहकारी संस्था लि. साेनमाकाे १५ औं साधारणसभा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिका प्रमुख डा. दिपेन्द्र महतोले सहकारीमा सबै सदस्य नै मालिक हुने भएकाले प्रत्येक सदस्यले सहकारीको आर्थिक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले समाजमा केही व्यक्तिहरूले “सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन” भन्ने भ्रम फैलाइरहेको उल्लेख गर्दै, त्यस्तो गलत विचारमा नलागी समयमै ऋण चुक्ता गरेर सहकारी सुदृढ बनाउन आग्रह गर्नुभयो।
विशिष्ट अतिथि बर्दिवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले सहकारीले घरायसी कारोबारमा लगानी गर्दै समुदायमा राम्रो योगदान दिइरहेको प्रशंसा गर्नुभयो। उहाँले साधारणसभाको महत्वबारे चर्चा गर्दै अडिट रिपोर्ट सबै सदस्यको हातमा पुर्याउनुपर्ने र नीतिनियम निर्माणमा सबै सदस्यको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले सदस्यहरूको मुख्य भूमिका नियमित बचत गर्ने र लिएको ऋण समयमा चुक्ता गर्ने हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, जिल्ला सहकारी संघ महोत्तरीका उपाध्यक्ष लिलामणि आचार्यले सहकारीको प्रतिवेदनले संस्थाको अवस्था स्पष्ट देखाउने बताउँदै, सहकारीले आर्थिक, सामाजिक र समानताको हिसाबले समाजलाई अगाडि बढाउने काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जसरी शरीरमा रोग लाग्दा स्वास्थ्य बिग्रन्छ, त्यस्तै सहकारीमा हिसाबकिताब गडबड भयो भने संस्थाको स्वास्थ्य पनि बिग्रिन्छ,” भन्दै लेखापरीक्षणमा चुस्तता कायम गर्न आग्रह गर्नुभयो।
जिल्ला सहकारी संघ महोत्तरीका कोषाध्यक्ष रामनारायण साहले सहकारीको तीन प्रकारका साधारणसभा — प्रारम्भिक, विशेष र वार्षिक — हुने जानकारी दिनुभयो। उहाँले प्रत्येक वर्ष वार्षिक साधारणसभा अनिवार्य रूपमा गर्नुपर्ने बताउँदै, साधारणसभा नभए सहकारी होइन, प्राइभेट कम्पनी बन्ने प्रष्ट पार्नुभयो । उहाँले सबै नीतिनियम र निर्णयहरू साधारणसभामै पारित गर्नुपर्ने र सबै सदस्यको अनिवार्य उपस्थिति आवश्यक रहेको स्पष्ट गर्नुभयो ।
सहकारी २०६८ माघ १ गतेदेखि सिहासनिमा २५ जना सदस्य गठन गरि १ लाख २५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार ६ सय ८ जना शेयर सदस्य छन, जम्मा शेयर पुजी ६४ लाख ७ हजार ९ सय, बचत ७ करोड ५९ लाख ३४ हजार ९६ रुपैया र ऋण लगानी ९ करोड २७ लाख २५ हजार ७ सय २८ रुपैयाँ गरि, यस आ.व.२०८१ असार मसान्तसम्म २७ लाख १८ हजार ७ सय ९९ रुपैयाँ नाफा भएको र संस्थामा १० करोड २८ लाख ७७ हजार ४ सय ६४ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक सराेज कुमार यादवले जनाए ।






































