गाैशाला, कार्तिक १७ गते ।
अब गौशाला बजारको रूप बदलिँदैछ। लामो समयदेखि नाला र ढलको अभावमा हिलो, फोहोर र दुर्गन्धले त्रसित रहँदै आएको बजार क्षेत्र अहिले सुधारतर्फ अघि बढेको छ। संघीय सरकारको सहयोगमा करिब ३७ सय मिटर क्षेत्रफलमा पहिलो चरणको ढल तथा निकास व्यवस्थापन कार्य सुरु भएको हो।
कामको जिम्मा पाएको काठमाण्डौस्थित बी एण्ड बी भीआईपीएल जेभी काटेश्वर कम्पनीका प्राविधिक टोलीले बजार क्षेत्रमा पुगेर सर्वेक्षण कार्य प्रारम्भ गरिसकेको छ। दुई चरणमा सम्पन्न हुने यो परियोजनालाई खानेपानी तथा ढल निकास कार्यालय जनकपुरले १३ करोड ५३ लाख रुपैयाँ लागतमा टेण्डर स्वीकृति दिएको हो।
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोका अनुसार बजारको सरसफाइ र सौन्दर्यीकरण नगरको दीर्घकालीन प्राथमिकतामा परेका विषय हुन्। उहाँले एमाले नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोईरीको पहल र निरन्तर प्रयासका कारण यो परियोजना व्यवहारमा आएको बताउनुभयो।
पहिलो चरणमा बजारको मुख्य सडक क्षेत्रका ढल तथा नाला निर्माण गरिनेछ भने दोस्रो चरणमा आसपासका गल्ली र बस्तीहरूमा विस्तार गरिने निर्माण कम्पनीले जनाएको छ।
लामो समयदेखि पानी जम्ने, दुर्गन्ध फैलिने र आवतजावतमा असहजता झेल्दै आएका स्थानीय बासिन्दाले अब बजार सफा र आकर्षक बन्ने आशा व्यक्त गरेका छन्। परियोजना सम्पन्न भएपछि गौशाला बजारको स्वच्छता, सवारी आवागमन र व्यवसायिक वातावरणमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ।

