राजेश सिंह/इन्दल राउत
गाैशाला, कार्तिक १८ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्थानीय तहमा देखिएका समस्या र मुद्दाहरूका विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“स्थानीय अधिकार कार्यक्रम (LRP–41)” अन्तर्गत आयोजित उक्त अन्तरक्रिया नागरिक सरोकार मञ्च रामगोपालपुरकाे अगुवाइमा रतौली युवा क्लब र एक्सनएड नेपालकाे सहयोगमा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
अन्तरक्रियामा सहभागीहरूले शिक्षाको गुणस्तर, महिला सशक्तीकरण, बाल अधिकार, जलवायु परिवर्तन, वातावरणीय समस्या र सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरूले समुदायमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि स्थानीय सरकार र नागरिक समाजबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुलार साहले समुदायका समस्या सुन्दै तत्काल समाधान गर्न सकिने विषयमा प्रतिबद्धता जनाएका थिए । उनले स्थानीय सरकार जनताको सरोकारका विषयमा जिम्मेवार रहेको उल्लेख गर्दै समुदायको सुझावका आधारमा आगामी नीति र योजना निर्माणमा प्राथमिकता दिने बताएका थिए ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, वडा नं. १ का अध्यक्ष विजय कुमार मण्डल, वडा नं. ५ का अध्यक्ष मकेश्वर कुमार शर्मा, वडा नं. ९ का अध्यक्ष नागेश्वर प्रसाद मण्डल, नागरिक सरोकार मञ्चकी संयोजक कला देवी लगायतका वक्ताहरूले समस्या पहिचान र समाधानका उपायबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा सहभागीहरूले शिक्षाको पहुँच र गुणस्तर सुधार, कृषक समूह दर्ता, विपत्तिपूर्व तयारी, कार्यस्थलमा महिलाको असमान व्यवहार, बाल श्रम न्यूनीकरण, न्यून ज्याला र सुशासन प्रवर्द्धनलाई प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन, आगामी कार्ययोजना निर्माण गरिएको थियो । स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य सुदृढ गर्दै पहिचान गरिएका समस्याको व्यावहारिक समाधानका लागि संयुक्त प्रतिबद्धता गरिएको नागरिक सरोकार मञ्चका प्रतिनिधिले जनाएको छ ।

