काभ्रेपलाञ्चोक, कार्तिक १९ गते ।
मण्डनदेउपुर नगरपालिका–६ को कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बा ५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गमा सडकबाट करिब ६० मिटर तल खस्दा चालक २८ वर्षीय किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
मण्डनदेउपुर–७ झगारपुरका राई स्टेरिङमा जलेको अवस्थामा फेला परेका थिए। सोही वडाका २२ वर्षीय सहचालक विक्रम राई दुर्घटनामा गम्भीर घाइते भएका छन्।
घाइतेको शरीरका विभिन्न भाग जलेको कारण उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।
प्रहरीका अनुसार टिपर दुर्घटना र त्यसपछिको आगलागीबारे थप अनुसन्धान भइरहेको छ।

