महोत्तरी, कार्तिक २० गते ।
औरही नगरपालिका–२ स्थित औरही स्कुल चौकमा मोटरसाइकलको ठक्करबाट एक ९ वर्षीय बालक गम्भीर घाइते भएका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मधेस प्रदेश–०२–००७ प ८४८८ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घाइते बालक औरही नगरपालिका–२ फुलवरियाका श्यामसुन्दर साहका छोरा विवेक साह हुन्। चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमीका कक्षा १ का विद्यार्थी विवेक स्कुल बसबाट झरेर सडक काट्ने क्रममा दुर्घटनामा परेका थिए।
दुर्घटनामा विवेकको निधारमा गम्भीर चोट लागेको र प्रारम्भिक उपचार औरही नगरपालिका–१ स्थित औरही समाजसेवा हेल्थ केयर एण्ड हस्पिटलमा गराई थप उपचारका लागि जनकपुरस्थित न्युरो हस्पिटल रेफर गरिएको प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकलमा तीन जना सवार रहेको खुलेको छ। भंगाहा नगरपालिका–७ का २२ वर्षीय चालक निरज सिंह, १७ वर्षीय आयुस सिंह र १८ वर्षीय आदेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

