पवन प्रसाद साह
बिरगंज, कात्तिक १९ गते ।
बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतममाथि संघभित्र मधेसी–पहाडी समुदायबीच भेदभाव गर्दै मनोमानी ढंगले कार्य सञ्चालन गरेको आरोप लागेको छ।
व्यवसायीहरूको भनाइमा, संघले दर्ता भएका सदस्य व्यवसायीहरूको हितका लागि काम गर्नुपर्नेमा अध्यक्ष गौतमले आफ्ना निकट व्यक्ति तथा बिरगंज महानगरपालिकालाई मात्र प्राथमिकता दिएका छन्।
संघभित्रका एक सदस्यले नाम नखुलाउने सर्तमा बताएका छन्, “अध्यक्ष गौतमले कुनै पनि निर्णय सामूहिक रूपमा नगरी एकलौटी ढंगले गर्छन्। बितेको दसैंमा समेत उनले आफ्नो नजिकका पहाडी समुदायका सञ्चारकर्मीलाई फोन गरेर नजराना खाम वितरण गरेका थिए, जसले धेरै सञ्चारकर्मीबीच असन्तुष्टि बढाएको छ।”
नेपाल घरेलु तथा साना उद्योग महासंघ, पर्साका एक पदाधिकारीका अनुसार, बिरगंज उद्योग वाणिज्य संघले साना तथा घरेलु उद्योगका लागि आजसम्म कुनै पनि तालीम, योजना वा सहयोग कार्यक्रम सञ्चालन गरेको छैन। उनका भनाइमा, “संघ ठूला उद्योगका हितमा मात्र केन्द्रित छ, साना उद्यमीहरू बेवास्तित छन्, जसले संघको विश्वसनीयता घटाएको छ।”
व्यवसायीहरूले संघलाई आफ्नो मूल उद्देश्य—व्यापार तथा व्यवसायीको हित संरक्षण र प्रवर्द्धन—मा फर्कन आग्रह गरेका छन्। उनीहरूको भनाइमा, “संघले साना र ठूला सबै व्यवसायीको समान हितका लागि काम गर्नुपर्छ, पारदर्शी नीति ल्याउनुपर्छ र व्यापार प्रवर्द्धनमा जोड दिनुपर्छ।”
यस विषयमा उद्योग वाणिज्य संघ वा सम्बन्धित निकायले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

