जलेश्वर, कार्तिक २० गते ।
जलेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा स्वास्थ्य कार्यालय महोत्तरीको सहयोगमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि (डे–वर्मिङ) वितरण कार्यक्रम आजदेखि सुरु गरिएको छ।
कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण गरिँदैछ। यो अभियान मिति २०८२ कात्तिक २० र २१ गते सञ्चालन हुने जनाइएको छ।
उद्घाटन कार्यक्रम जलेश्वर नगरपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो। सो अवसरमा नगर प्रमुख सुरेश साह सोनारको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष अनिल झा, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, अनुसन्धान कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक चन्दन झा, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह, स्वास्थ्य कार्यालयकी पोषण फोकल पर्सन प्रतिभा सिंह, सञ्जय कुमार शर्मा, रामलाल ठाकुरलगायतको सहभागिता रहेको थियो।
वक्ताहरूले बालबालिकाको शारीरिक विकास, दृष्टि संरक्षण र रोग प्रतिरोधात्मक क्षमतामा भिटामिन ‘ए’ तथा जुकाको औषधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अभिभावकहरूलाई अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए ।





