राजेश सिंह
गौशाला, कार्तिक २३ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा निर्माणाधीन नौ कोठे भवनको तेस्रो तल्लाको छत ढलान कार्य भएको छ । उक्त ढलानको अनुगमन नगर प्रमुख डा. दिपेन्द्र महतोले गरेको हाे ।
अनुगमनका क्रममा नगर प्रमुख डा. महतोले विद्यालयलाई “विद्याको मन्दिर” भन्दै त्यसभित्र राजनीति नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा आएको नतिजा कमजोर हुनुमा जिम्मेवारी नगरपालिकाका जनप्रतिनिधिमात्र होइन, शिक्षक, अभिभावक र विद्यार्थी सबैको बराबर हुन्छ। नगरले मात्र सुधार गर्न सक्दैन, समाजले पनि जिम्मेवारी लिनुपर्छ।”

उहाँले थप गर्नुभयो कि विद्यालयको समृद्धि र गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर दुवै पक्षमा समुदायले सक्रिय भूमिका खेल्न आवश्यक छ।
विद्यार्थी संख्या बढेसँगै कक्षाकोठाको अभावले पठन–पाठनमा समस्या उत्पन्न भएपछि विद्यालयको सुविधा विस्तारका लागि नगरपालिकाको पहल र समन्वयमा संघीय सरकारको राष्ट्रिय योजना आयोगद्वारा विनियोजित बजेटबाट भवन निर्माण कार्य सुरु गरिएको हो।
विद्यालयको नौ कोठे भवन निर्माण कार्यको शिलान्यास २०८१ मंसिर २२ गते गरिएको थियो। भवन निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको शिक्षा शाखा प्रमुख संजय महतोले जानकारी दिनुभयो
शिक्षा शाखा प्रमुख संजय महतोका अनुसार रमेश कन्स्ट्रक्सन, जनकपुरसँग २०८१ कार्तिक २१ गते रु. १ करोड ९९ लाख ३० हजार ६ सय ६० रुपैयाँ ९५ पैसा बराबरको ठेक्का सम्झौता गरी भवन निर्माण कार्य अघि बढाइएको हो ।







