नरेन्द्र महतो
गाैशाला, कार्तिक २४ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरमा राजनीतिक तनाव बढेको छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले होटलमा बसेर शपथ लिएको विषयलाई लिएर विभिन्न दलका नेताहरूले आपत्ति जनाएका छन्।
जसपाका एक वरिष्ठ नेताले एमालेमाथि “मधेशलाई जान–बुझी धरापमा पार्ने काम गरेको” आरोप लगाएका छन्। उनका अनुसार संघीयता विरोधी शक्तिहरूले पटक–पटक प्रदेशको अधिकार र उन्नतिमाथि प्रहार गर्दै आएका छन्।
उनले संविधानको धारा १६८ को उपधारा (२) रहँदा–रहँदै उपधारा (३) अनुसार होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरे।
जसपाका नेताले सात राजनीतिक दललाई बेवास्ता गरेर सरकार गठन गर्नु “अलोकतान्त्रिक र अनुचित कदम” भएको बताए। उनले भने,
> “अहिले मधेश बलिरहेको छ, तर केही नेताहरूले नैतिकता गुमाइसकेका छन्। जबसम्म मुख्यमन्त्री पदबाट त्यागपत्र दिन्छन्, तबसम्म मधेशमा आन्दोलन जारी रहनेछ।”
उनले संघीयता कसैले ‘भिख’का रूपमा नदिएको र यो “बलिदान र आन्दोलनबाट प्राप्त अधिकार” भएको उल्लेख गर्दै त्यसको अन्तिम साससम्म रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै, जसपा नेताले मधेश प्रदेशमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीबीचको ठूलाे खेल (ग्रान्ड डिजाइन) भएको आरोप समेत लगाए । उनले थपे, “मुख्यमन्त्रीले संविधान र कानुन अनुसार पदमा रहनुपर्छ, नत्र कुर्सीमा बस्ने अधिकार हुँदैन। यो केटा–केटीको खेल होइन, यो राजनीति हो, जसले नियम र प्रक्रिया मान्नैपर्छ।”

