जनकपुरधाम, कार्तिक २६ गते ।
धनुषाको हंसपुर नगरपालिका–७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन–चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
कात्तिक २४ गते राति करिब ९ बजे ६२ वर्षीया चन्द्रकला देवी दास घरबाट करिब पाँच सय मिटर टाढा मृत अवस्थामा भेटिएकी थिइन्। गाउँमा घटना सार्वजनिक भएपछि प्रहरी र स्थानीयवासी दुवै स्तब्ध बनेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँरको नेतृत्वमा विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सोही टोलकी ४५ वर्षीया पवित्री देवी मण्डललाई संलग्न देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मण्डलले वृद्ध महिलाको हत्या गरी उनका गरगहना — दुई थान झुम्का, दुई थान बाली, दुई थान मंगलसूत्र र दुई थान खुट्टाको कडा — लुटेकी थिइन्। ती सबै गरगहना मण्डलको साथबाट बरामद गरिएको हो।
त्यसैगरी मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत फेला परेको प्रहरीले जनाएको छ। मण्डलमाथि जिल्ला अदालत धनुषाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

