ललितपुर, कार्तिक २६ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महिला विभागको बैठक पार्टी केन्द्रीय कार्यालय वालकुमारी, ललितपुरमा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले महिला सशक्तिकरणका लागि पार्टी र राज्यका सबै तहमा महिलाको समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जसपा नेपालका महिला नेतृहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला अधिकारसम्बन्धी कार्यक्रमहरूमा सक्रिय सहभागी गराउन महिला विभागलाई पहल गर्न निर्देशन दिनुभयो। साथै, उहाँले महिलाको क्षमता अभिवृद्धि र महिला हिंसा अन्त्यका लागि प्रभावकारी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
बैठकले समाजवादी महिला संघ, नेपाल महिला संगठनसम्बन्धी लिखित प्रतिवेदनको अध्ययन गरी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्न महिला विभागले पहल गर्ने निर्णय गरेको छ।
त्यसैगरी, पार्टीको विधान संशोधन गरेर स्थानीय तहदेखि केन्द्रीय तहसम्म हरेक तीन जनामा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
महिला विभाग सदस्य गोमा भुसालद्वारा सञ्चालित “महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र आरक्षण” सम्बन्धी कार्यक्रम सकेसम्म चाँडो सञ्चालन गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
साथै, महिला विज्ञहरूसँग महिला अधिकारसम्बन्धी छलफल कार्यक्रमहरू आयोजना गर्न पार्टी नेतृत्वसँग आवश्यक सहयोग माग्ने निर्णय पनि बैठकमा गरिएको छ।
बैठक महिला विभाग प्रमुख प्रमिला यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। बैठकमा महिला विभागका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

