काठमाडौं : नेपाल सरकारले २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा पदोन्नति पाउनुभएका दान बहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहसचिव रामेश्वर दंगालले कार्कीलाई चिन्ह लगाइ पदोन्नति औपचारिक रूपमा प्रमाणित गर्नुभएको हो।
समारोहमा गृहसचिव दंगालले प्रहरी संगठनको नेतृत्व गर्न कार्कीलाई जिम्मेवारी दिँदै उहाँको कार्यकालमा शान्ति सुरक्षा र सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन सम्पन्न गर्नु, विकृति–विसंगति अन्त्य गर्दै सुशासन कायम गर्नु नेपाल सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै त्यसमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले २८ वर्षको प्रहरी सेवामा गरेको समर्पण र निष्ठाको कदरस्वरूप आफूलाई प्रदान गरिएको जिम्मेवारीबारे कृतज्ञता व्यक्त गर्दै पेशागत अनुशासन, पारदर्शिता र जवाफदेहिता सहित नागरिक सेवाभावमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई गृह मन्त्रालय, अन्य सुरक्षा निकाय तथा समुदायसँग सहकार्य गर्दै संगठन सुदृढीकरण र प्रहरी मनोबल उच्च राख्ने दिशामा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले प्रहरी प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ। उहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै अमर प्रहरीप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो ।
संक्षिप्त जीवनी
गुल्मीको मालिका गाउँपालिका–७ मा वि.सं. २०२९ साउन १५ गते जन्मनुभएका दान बहादुर कार्की वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवा आरम्भ गर्नुभएको हो। राजनीति शास्त्रमा स्नातकोत्तर कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २२ प्रकारका तालिम पूरा गर्नुभएको छ।

प्रवल जनसेवा श्रीसहित संयुक्त राष्ट्रसंघ पदकबाट विभूषित कार्की विभिन्न जिल्लामा प्रहरी कार्यालयको नेतृत्व गरिसकेका छन्। उहाँ नेपाल प्रहरीका ३३औं महानिरीक्षक हुनुहुन्छ।

