गाैशाला, कार्तिक २६ गते ।
रतौली युवा क्लब, महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा रामगोपालपुर नगरपालिकामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत विद्यालय सुधार र कृषक सशक्तीकरण कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ।
अनुगमन टोलीले विद्यालयका भौतिक सुधार, कृषक समूहका सीप विकास तथा आयआर्जनका गतिविधिहरूको प्रगति मूल्याङ्कन गरेको हो ।
रामगोपालपुर–५ कञ्चनपुरस्थित श्री जनता आधारभूत विद्यालयमा विद्युतिकरण, झ्याल–ढोका मर्मत, रंगरोगन, भुईं ढलान, शिक्षण–सामग्री वितरण र कम्पाउण्डवाल निर्माण गरिएको छ। विद्यालयका प्रधानाध्यापक जगर्नाथ साहका अनुसार, सो कार्यमा करिब रु. ७ लाख २० हजार बराबरको रकम परियोजनाबाट सहयोग गरिएको हो ।
त्यसैगरी, रामगोपालपुर–९ गोठबनैली स्थित श्री दोरिक जनता आधारभूत विद्यालयमा दुई तल्ले चार कोठे भवन निर्माण कार्य जारी छ।
कृषक सशक्तीकरणअन्तर्गत रामगोपालपुर–५ का शक्तिशाली कृषक समूह, रामगोपालपुर–९ का भुइया बाबा श्रमिक समूह र गोठबनैलीका सरस्वती श्रमिक महिला समूहमा जैविक खेती, सीप विकास र आयआर्जन कार्यक्रमहरू सञ्चालनमा छन्।
कार्यक्रम संयोजक अविनाश कुमार महतोका अनुसार, कृषकहरूलाई तरकारीका बिउविजन वितरण, बेर्ना उत्पादन र जैविक खेतीका तालिमहरू प्रदान गरिएको छ, जसले उत्पादन र आत्मविश्वास दुवै बढाएको छ।
कार्यकारी निर्देशक वैधनाथ चौधरीले भने, “रतौली युवा क्लबले एक्सन एड नेपालको सहकार्यमा कृषि र शिक्षा दुवै क्षेत्रमा ठोस उपलब्धि हासिल गरेको छ। अब यी कार्यक्रमलाई अझ दिगो र प्रभावकारी बनाइनेछ ।”
अनुगमन टोलीमा अध्यक्ष साकिर खान, कोषाध्यक्ष गुन्जा ठाकुर, सदस्य शम्भु प्रसाद सिंह, फाइनान्स अफिसर राम भरोसी यादव, परियोजना अधिकृत अभिषेक दुबे र सव–इन्जिनियर प्रभाष रजक लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

