जनकपुरधाम, कार्तिक २७ गते ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता गर्न गएका सांसदहरूमाथि हातपात भएको घटना सार्वजनिक भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सचेतक रामअशिष यादवका अनुसार, उपसभामुख समक्ष अविश्वास प्रस्ताव दर्ता गरेर फर्किरहेका सांसदहरूलाई सभामुख मण्डल र उनका समर्थकहरूले हातपात गरे। घटनामा सभामुखको सचिवालयभित्र लोसपाका उपेन्द्र महतो र जनमत पार्टीका महेश यादवलाई पिटिएको आरोप छ।
सभामुखको पक्षमा रहेका नेकपा (एमाले) सांसद तथा कार्यकर्तासँग सात दलका सांसदबीच झडप भएको पनि बताइएको छ। घटनापछि सचिवालयको ढोका बाहिरबाट ताला लगाइएको र बत्ती बन्द गरिएको जानकारी प्राप्त भएको छ।
स्रोतका अनुसार, हाल सात दलका सांसदहरू सचिवालयभित्र बन्धकजस्तै अवस्थामा छन्। स्थिति नियन्त्रणका लागि थप सुरक्षा फोर्स परिचालन गरिएको छ।

