डडेल्धुरा : परशुराम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (CAO) को कार्यसम्पादन मूल्यांकनका विषयमा विवाद चर्किएको छ। वार्षिक कार्यसम्पादन मूल्यांकन अन्यायपूर्ण भएको भन्दै लेखा अधिकृत धनबहादुर साउदले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा लिखित निवेदन दिएका छन्।
लेखा अधिकृत साउदका अनुसार उनले विगत छ वर्षदेखि कार्यालयका सबै जिम्मेवारी निष्ठा, इमानदारी र समयपालनासहित पूरा गर्दै आएका छन्। आर्थिक वर्ष २०८१/८२ मा आफ्नो वास्तविक कामको मूल्यांकन नगरी पूर्वाग्रहपूर्ण ढंगले अंक कटौती गरिएको उनको दाबी छ।
साउदले लेखा शाखामा देखिएका अनियमितता सच्याउनेदेखि लिएर वार्षिक लेखा प्रतिवेदन समयमै तयार पार्ने, आन्तरिक लेखा परीक्षणका सुझाव कार्यान्वयन गर्ने तथा भुक्तानी प्रक्रिया तोकिएको अवधीमै सम्पन्न गर्ने काम आफूले नियमितरूपमा गरेको बताए। यस्ता उपलब्धि मूल्यांकनमा समेटिनु आवश्यक भए पनि वेवास्ता गरिएको उनको भनाइ छ।
यस विषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट तथा नगर प्रमुख भरत बडायर जोशीसँग सम्पर्क हुन नसकेको प्रशासनलाई बताइएको छ।
नगरपालिकामा पछिल्लो समय कर्मचारीबीच समन्वय अभाव, बारम्बार बिदा, तथा कार्यालय कार्यभन्दा व्यक्तिगत कामलाई प्राथमिकता दिने प्रवृत्तिले सेवा प्रवाह प्रभावित भइरहेको नगरका एक कर्मचारी बताउँछन्।
यता, केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव कृष्ण दत्त जोशीलाई परशुराम नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको भए पनि उनले अहिलेसम्म कार्यभार सम्हालेका छैनन्।
नगर प्रवक्ता खगेन्द्र बहादुर सिंहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा अरूलाई नबाँडिएकाले कल्पना भट्ट नै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेकी छन्। नगर प्रमुख हाल काठमाडौँमा भएकाले उनी भोलि फर्किएपछि आइतबार यस विषयमा संस्थागत निर्णय हुने सिंहको भनाइ छ।



